महेश सिंह सिरहा- लक्ष्मीपुर पतारी गाउँपालिका–४ की उमा विकले दोहोरो नागरिकताको विषय उठाउँदा निरन्तर हिंसा सहनुपरेको गुनासो सार्वजनिक गरेकी छन्। विकका अनुसार सोही वडाका बलिराम साहले उनलाई पटक–पटक अश्लील गालीगलौज, धम्की तथा ज्यान मार्ने चेतावनी दिइरहेका छन्।
विकले पत्रकार सम्मेलन गर्दै आफूले बलिराम साहको दोहोरो नागरिकता सम्बन्धी प्रमाणहरु सम्बन्धित निकायमा बुझाए पनि हालसम्म कुनै कारबाही नभएको बताइन्। “बलिराम साह भारतीय नागरिक हुन् भन्ने पर्याप्त प्रमाण छन्,” विकले भनिन्, “तर प्रशासन मौन छ। उल्टै मलाई नै धम्की आइरहेको छ।”
गृह मन्त्रालयले २०८१ साउन २५ गते सिरहा जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाहीको लागि पत्राचार गरिसकेको छ। सोही निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय, सिरहाले जिल्ला प्रहरी कार्यालयलाई २०८१ साउन २८ गते कारबाही अघि बढाउन पत्राचार गरे पनि हालसम्म कुनै ठोस कदम नचालिएको विकको आरोप छ।
“मैले प्रमाण देखाउँदा पनि कारबाही किन हुँदैन?” विकले प्रश्न गरिन्। “प्रशासन मौन बसेपछि अन्याय सहेर बस्ने कि थप हिंसाको शिकार हुने?”
बलिराम साह हाल लक्ष्मीपुर पतारी–६, सितापुरमा बस्दै आएका छन्। उनीविरुद्ध कारबाहीको माग गर्दै विकले आफू र आफ्नो परिवारको सुरक्षा सुनिश्चित गर्न राज्यसँग आग्रह गरेकी छन्। “मैले एक महिला भएर अन्यायविरुद्ध आवाज उठाएँ, तर उल्टै हिंसाको शिकार भएँ,” उनले भनिन्, “अब मेरो र परिवारको सुरक्षाको जिम्मा कसले लिन्छ?”
प्रशासनले दोहोरो नागरिकताको मुद्दालाई गम्भीरतापूर्वक लिएर कारबाही अगाडि नबढाए अन्य धेरै नागरिकता दुरुपयोगका घटनामा पनि मौनता छाउने विकको तर्क छ। “यस्तो मुद्दामा कानुनी कठोरता देखिएन भने दोहोरो नागरिकता लिने प्रवृत्तिले झनै प्रश्रय पाउनेछ,” उनले भनिन्।
अब प्रशासनले यसबारे कस्तो कदम चाल्छ? कानुन कार्यान्वयन गर्ने निकायले एक महिलामाथि भइरहेको हिंसालाई रोक्न कति तत्परता देखाउँछ? यो विषयमा आम नागरिकले पनि चासो राख्नु आवश्यक देखिन्छ।
यो विषयमा बलिराम साह संग बुझन खोज्दा मोबाइलमा सम्पर्क हुन नसकेको हो आफू पटकपटक सम्पर्क गर्न खोजेको हो ।
Discussion about this post