महेश सिंह सिरहा लहान- लघुवित्तका नाममा गरिब किसान र सर्वसाधारणलाई आर्थिक शोषणको चपेटामा पारिएको भन्दै लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले देशव्यापी आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ। सोमबार उदयपुरको गाईघाटमा आयोजित विरोध प्रदर्शनमा प्रमुख अतिथि मनोज पौडेलले लघुवित्तलाई नवसामन्ती शोषणको रूपमा परिभाषित गर्दै अब यो अन्याय सहन नसकिने चेतावनी दिए।
उदयपुर जिल्ला अध्यक्ष प्रदीप मगरको नेतृत्वमा आयोजित कार्यक्रममा गाईघाट बसपार्कबाट सुरु भएको र्याली बजार परिक्रमा गर्दै पिपल चौकमा कोण सभामा परिणत भएको थियो। कार्यक्रममा हजारौँ सहभागीले प्लेकार्डसहित नाराबाजी गर्दै लघुवित्त संस्थाको खारेजीको माग गरेका थिए।
राष्ट्रिय स्वयंसेवक नेपालका अध्यक्ष पौडेलले लघुवित्तका कारण देशभरका गरिब किसान, श्रमिक र महिलाहरूको जीवन झनै कष्टकर बनिरहेको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, “लघुवित्तले गरिबी हटाउने नाममा झनै गरिब जनतालाई ऋणको पासोमा फसाएको छ। पछिल्ला तीन वर्षमा मात्र १५ सय महिलाले यसकै कारण ज्यान गुमाएका छन्। सरकार बेखबर बस्न मिल्दैन। यदि हाम्रो माग पूरा भएन भने यो आन्दोलन विद्रोहमा बदलिनेछ।”
पौडेलले सरकारसँग प्रस्तुत १६ बुँदे मागपत्रमा उल्लेख गरिएका मुख्य विषयहरूमा स्पष्ट धारणा राख्दै भने, “समूहगत ऋण मिनाहा, निशुल्क ऋण उपलब्ध गराउनुपर्ने, मिटरब्याजी तमसुक खारेज गर्नुपर्ने र लघुवित्तका कारण मरणासन्न अवस्थामा पुगेका किसान र श्रमिकको जीवन रक्षा गर्नुपर्छ। सरकार अब पनि मौन बस्यो भने जनताले निर्णायक संघर्ष गर्नेछन्।”
कार्यक्रममा लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिले निम्न १६ बुँदे मागपत्र प्रस्तुत गर्यो:
लघुवित्त संस्थाहरू खारेज,सामूहिक ऋण मिनाहा,निशुल्क ऋण प्रदान,चेक बाउन्स, कालोसूची र धितो लिलाम फुकुवा,मिटरब्याजी तमसुक खारेज,वित्तीय संस्थाहरूबाट असुलिएको अनाधिकृत रकम फिर्ता,नीतिगत भ्रष्टाचारीलाई कडा कारबाही।संघर्ष समितिका नेतृ बिना मगरले भनिन्, “लघुवित्त संस्थाहरूले गरिब जनतालाई मानसिक यातनामा पुर्याएको छ। यो सहन सकिने अवस्था छैन। आन्दोलनको यो चरण निर्णायक हुनेछ।”
कार्यक्रममा वक्ताहरूले गाईघाटको शक्ति प्रदर्शनपछि काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेका छन्। संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले भने, “अब काठमाडौंलाई आन्दोलनको केन्द्र बनाउनेछौं। सरकारले हाम्रो माग पूरा गरेन भने यो आन्दोलन देशव्यापी विद्रोहमा परिणत हुनेछ।”
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले लघुवित्त संस्थाहरूको अत्याचारलाई खुलासा गर्दै गरिब वर्गलाई न्याय दिलाउन सरकारलाई आग्रह गरे।गाईघाटमा भएको विरोध प्रदर्शन र कोण सभामा करिब १० हजार मानिस सहभागी भएको आयोजकले जनाएको छ। प्लेकार्ड र नाराबाजीसहित सहभागीहरूले “लघुवित्त खारेज गर”, “गरिब जनताको ऋण मिनाहा गर”, “शोषणको अन्त्य गर” लगायतका नाराहरू लगाएका थिए।
कार्यक्रमको समापन गर्दै अध्यक्ष ज्ञवालीले आन्दोलनलाई अझ सशक्त बनाउन देशभरका पीडितहरूलाई सहभागी हुन आह्वान गरे। “यो केवल सुरुआत हो। यदि सरकार गम्भीर भएन भने आन्दोलन थप कडा बन्छ,” उनले चेतावनी दिए।
सरकारले हालसम्म कुनै प्रतिक्रिया नजनाएको र आन्दोलनकारीले यसलाई आगामी दिनमा कस्तो रूप दिनेछन् भन्ने विषयले देशभरको ध्यान तान्ने निश्चित छ।
Discussion about this post