![]()
महेश सिंह सिरहा – भलिबल महासंघ सिरहा जिल्ला अधिवेशनमा प्रमुख अतिथिका रूपमा बोल्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिरहाका अध्यक्ष उमेश चौधरीले विद्यार्थी मात्र नभई स्वस्थ मानव जीवनका लागि खेलकुद अत्यन्त आवश्यक रहेको बताएका छन्।
अधिवेशनमा प्रमुख अतिथिको आसन ग्रहणपछि सम्बोधन गर्दै अध्यक्ष चौधरीले खेलकुदलाई स्वास्थ्य र राष्ट्र निर्माणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए। उनले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसात् गर्दै खेलकुदको विकासमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
“विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अपरिहार्य छ। त्यसैले हरेक शैक्षिक संस्थासँग जोडिएका बालबालिकालाई अध्ययनसँगै खेलकुदमा पनि सहभागी गराउनुपर्छ,” चौधरीले भने।
उनले विद्यालय तहदेखि नै बालबालिकाको खेल प्रतिभा पहिचान गरी आवश्यक अवसर र प्रशिक्षण उपलब्ध गराउन सके भविष्यमा जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने धारणा राखे।
अध्यक्ष चौधरीले खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र नभई अनुशासन, स्वास्थ्य, नेतृत्व क्षमता र सामाजिक विकासको माध्यमका रूपमा समेत अघि बढाउनुपर्ने बताए।
भलिबल महासंघ सिरहा जिल्ला अधिवेशनले जिल्लामा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुद गतिविधिलाई थप व्यवस्थित बनाउने विषयमा समेत जोड दिएको छ।











Discussion about this post