![]()
महेश सिंह लहान सिरहा – युवाको ऊर्जा, सिर्जनशीलता र नेतृत्व क्षमतालाई देश निर्माणसँग जोड्न स्वदेशमै शिक्षा, सीप, रोजगारी र उद्यमशीलताका अवसर विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार सिरहाको अर्नमा गाउँपालिकामा आयोजित र्याली तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले युवाको भविष्यसँग जोडिएका अवसर र चुनौतीबारे चर्चा गर्दै यस्तो बताएका हुन्। ‘विविध परिवेश, साझा आकांक्षा’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो।

अर्नमा गाउँपालिका, प्लान इन्टरनेशनल नेपाल, समग्र जनउत्थान केन्द्र, सहारा नेपाल, स्थानीय प्रहरी तथा किशोर–किशोरी क्लबको संयुक्त आयोजनामा गाउँपालिका कार्यालय परिसरबाट निकालिएको र्याली अर्नमा बजार परिक्रमा गरी अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो।
कार्यक्रममा सहभागी युवाहरूले रोजगारी तथा अवसरको अभावकै कारण ठूलो संख्यामा युवा विदेशिनुपर्ने बाध्यता रहेको भन्दै त्यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए। उनीहरूले स्वदेशमै सम्मानजनक रोजगारी, सीपअनुसारको अवसर र उद्यम गर्ने वातावरण बनाउन स्थानीय तहदेखि राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
‘युवाको आवाज सुन्ने मात्र होइन, निर्णय प्रक्रियामा सहभागी गराउनुपर्छ’
अन्तरक्रियामा युवाका समस्या सुन्ने र छलफल गर्ने परम्परामा मात्र सीमित नभई नीति निर्माण तथा निर्णय प्रक्रियामै उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने आवाज उठेको थियो।
वक्ताहरूले युवा समाज परिवर्तनका महत्वपूर्ण संवाहक भएको उल्लेख गर्दै उनीहरूको नवीन सोच, प्रविधिको ज्ञान र सिर्जनशीलतालाई सही दिशामा परिचालन गर्न सके स्थानीय विकासदेखि राष्ट्रिय समृद्धिसम्म सकारात्मक प्रभाव पार्न सकिने बताए।
शिक्षा र सीपबीचको दूरी घटाउँदै बजारको आवश्यकता र युवाको क्षमताअनुसार सीप विकास कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत सहभागीहरूले जोड दिए। युवालाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्न सक्ने उद्यमीका रूपमा विकास गर्न स्थानीयस्तरमै लगानी र प्रोत्साहनको वातावरण आवश्यक रहेको उनीहरूको भनाइ थियो।
अवसरमा समान पहुँचको माग
कार्यक्रममा युवाबीच अवसरको समान पहुँच सुनिश्चित गर्नुपर्ने विषय पनि उठाइएको थियो। आर्थिक, सामाजिक तथा भौगोलिक रूपमा पछाडि परेका समुदायका युवालाई शिक्षा, सीप, प्रविधि, उद्यमशीलता र रोजगारीमा प्राथमिकताका साथ जोड्नुपर्ने सहभागीहरूको धारणा थियो।
स्थानीय तहमा युवाका लागि सञ्चालन हुने कार्यक्रमलाई आवश्यकता पहिचानमा आधारित बनाउनुपर्ने तथा किशोर–किशोरी क्लब र युवा समूहलाई केवल कार्यक्रमका सहभागीका रूपमा नभई स्थानीय विकासका साझेदारका रूपमा स्थापित गर्नुपर्नेमा समेत जोड दिइएको थियो।
कार्यक्रममा अर्नमा गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष तथा कर्मचारी, किशोर–किशोरी क्लबका प्रतिनिधि, स्थानीय प्रहरी, समग्र जनउत्थान केन्द्रको ‘उज्ज्वल भविष्य परियोजना’का प्रतिनिधि, सहारा नेपालका प्रतिनिधि, स्थानीय युवा तथा महिलालगायतको सहभागिता थियो।
सहभागीहरूले अन्तर्राष्ट्रिय युवा दिवसलाई औपचारिक कार्यक्रम र नारामा सीमित नगरी युवाको अधिकार, अवसर र नेतृत्व विकासका विषयमा निरन्तर संवाद तथा स्थानीय तहमा ठोस कार्यक्रम निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।











Discussion about this post