![]()
महेश सिंह लहान सिरहा – आधुनिक शिक्षालाई व्यवहारिक जीवनसँग जोड्दै लहानस्थित ले विद्यार्थीका लागि नियमित योग शिक्षा सञ्चालनमा ल्याएको छ। विद्यालयले विद्यार्थीको शारीरिक स्वास्थ्यसँगै मानसिक एकाग्रता, अनुशासन र सकारात्मक सोच विकास गर्ने उद्देश्यले योग अभ्यासलाई शैक्षिक गतिविधिको महत्वपूर्ण हिस्साका रूपमा अघि बढाएको हो।
विद्यालयका अध्यक्ष उमेश चौधरीको पहलमा सुरु गरिएको योग शिक्षामा हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई विशेष रूपमा सहभागी गराइएको छ। विद्यार्थीलाई अनुभवी योग शिक्षक दीपक चौलागाईले विभिन्न योगासन, प्राणायाम, ध्यान तथा योगसम्बन्धी आधारभूत अभ्यास गराउँदै आएका छन्।
विद्यालयका अनुसार पछिल्लो समय विद्यार्थीमा पढाइको दबाब, मानसिक तनाव तथा एकाग्रताको चुनौती देखिने भएकाले योग अभ्यासलाई उपयोगी माध्यमका रूपमा अघि बढाइएको हो। नियमित योगले शारीरिक स्फूर्ति बढाउनुका साथै मनलाई शान्त राख्न, अध्ययनमा ध्यान केन्द्रित गर्न र अनुशासन विकास गर्न सहयोग पुग्ने विद्यालयको विश्वास छ।
‘शिक्षा भनेको अंक मात्र होइन’
विद्यालयका अध्यक्ष चौधरीले शिक्षा केवल परीक्षामा राम्रो अंक ल्याउने विषयमा सीमित नभई विद्यार्थीलाई स्वस्थ, अनुशासित, जिम्मेवार र सक्षम नागरिक बनाउने प्रक्रिया भएको बताए। त्यसैले पाठ्यक्रममा आधारित शिक्षासँगै विद्यार्थीको व्यक्तित्व, स्वास्थ्य र व्यवहारिक क्षमताको विकासलाई विद्यालयले प्राथमिकता दिएको उनको भनाइ छ।
“विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शारीरिक र मानसिक स्वास्थ्य उत्तिकै महत्वपूर्ण छ। योगलाई नियमित शिक्षण गतिविधिसँग जोडेर विद्यार्थीमा स्वस्थ जीवनशैलीको विकास गराउने हाम्रो उद्देश्य हो,” अध्यक्ष चौधरीले भने।
योगबाट पढाइमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा
योग अभ्यासका क्रममा विद्यार्थीले शरीरलाई स्वस्थ राख्ने विभिन्न आसनसँगै श्वासप्रश्वास नियन्त्रण, ध्यान र मानसिक एकाग्रताको अभ्यास गर्ने गरेका छन्। यसले विद्यार्थीमा आत्मविश्वास, धैर्य, अनुशासन र सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विद्यालयको अपेक्षा छ।
पेरागनले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी जीवनोपयोगी ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले अतिरिक्त शैक्षिक गतिविधिलाई समेत निरन्तरता दिँदै आएको जनाएको छ। योग शिक्षा पनि सोही अभियानको एउटा हिस्सा भएको विद्यालय प्रशासनको भनाइ छ।
विद्यालयले आगामी दिनमा योग शिक्षालाई थप व्यवस्थित गर्दै अन्य कक्षाका विद्यार्थीलाई समेत सहभागी गराउने तयारी गरेको छ। सानै उमेरदेखि योग र स्वस्थ जीवनशैलीप्रति विद्यार्थीलाई अभ्यस्त गराउन सके भविष्यमा स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणमा योगदान पुग्ने विद्यालयको विश्वास छ।












Discussion about this post