![]()
महेश सिंह लहान सिरहा,- विश्व हिन्दू परिषद्, नेपाल जिल्ला कार्य समिति सिरहाले सुनसरीको देवानगञ्ज, सिरहाको गोलबजार र धनुषाको जनकपुरमा हालै भएका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन तथा दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।
परिषद्ले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै धार्मिक आस्थामाथि पटक–पटक आक्रमण भइरहेको भन्दै सरकारले घटनालाई गम्भीर रूपमा लिएर दोषीलाई कानुनको दायरामा ल्याउनुपर्ने माग गरेको हो।
प्रेस विज्ञप्तिअनुसार घटनाको उच्चस्तरीय छानबिन समिति गठन, पीडित परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचार, सुरक्षाकर्मीको भूमिकाको निष्पक्ष अनुसन्धान तथा धार्मिक स्वतन्त्रताको प्रत्याभूति सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ। साथै हिन्दू धर्मावलम्बीले शान्तिपूर्ण रूपमा गर्ने पूजा, मठ–मन्दिर तथा धार्मिक यात्रामा कुनै पनि प्रकारको अवरोध हुन नदिन राज्य जिम्मेवार बन्नुपर्ने परिषद्को भनाइ छ।
विश्व हिन्दू परिषद् नेपालका सिरहा जिल्ला अध्यक्ष शिव देव साह ले धार्मिक सद्भाव, कानुनी शासन र नागरिक सुरक्षाको संरक्षण राज्यको पहिलो दायित्व भएकाले परिषद्ले उठाएका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको जानकारी दिनुभयो।
उक्त विज्ञप्तिलाई बेतौना मठका महन्त लक्ष्मण दास बाबा ले समेत पूर्ण समर्थन जनाउनुभएको अध्यक्ष साहले जानकारी दिनुभयो।
परिषद्ले आफ्ना मागहरू समयमै सम्बोधन नभए हिन्दू समाजले कानुनी मर्यादा र शान्तिपूर्ण ढंगबाट थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ। विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।











Discussion about this post