![]()
महेश सिंह लहान – बालविवाह, दाइजो प्रथा तथा लैङ्गिक विभेद अन्त्य गर्दै छोरीहरूको शिक्षा र सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘बेटी बचाऔँ’ सचेतनामूलक कार्यक्रम सप्तरीको सुरुङ्गा नगरपालिका–१ स्थित शिशुवारी क्याम्पसमा सम्पन्न भएको छ।
मदिना मजहरी (नजज्बुल) फाउन्डेसन नेपालको आयोजना तथा सुरुङ्गा नगरपालिकाको सहयोगमा सञ्चालित कार्यक्रम ‘शिक्षामा छोरी, बिहेमा होइन’ भन्ने मूल नारासहित सञ्चालन गरिएको हो। संस्थाकी अध्यक्ष नजबुल खातुनका अनुसार उदयपुरको गाईघाटबाट सुरु गरिएको यो राष्ट्रिय अभियान हाल देशका विभिन्न जिल्लामा विस्तार हुँदै गएको छ।

कार्यक्रमका प्रमुख अतिथि सुरुङ्गा नगरपालिका–१ का वडा अध्यक्ष क्षत्र बहादुर राउत तथा राजकुमार राउत रहनुभएको थियो। कार्यक्रममा शिशुवारी क्याम्पसका प्रमुख कृष्ण तिमल्सिनाले अभियानी नजबुल खातुनलाई मायाको चिनो प्रदान गर्नुका साथै नेपाली झण्डा ओढाएर सम्मान गर्नुभएको थियो।
कार्यक्रममा शिक्षक डा. भागवत ठाकुर अतिथिका रूपमा सहभागी हुँदै बालविवाह, दाइजो प्रथा र लैङ्गिक विभेद अन्त्य गर्न समुदाय, विद्यालय र अभिभावकको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा “छोरीको शिक्षा, देशको प्रगति”, “बेटी बचाऔँ, भविष्य बचाऔँ” तथा “समान सोच, समान अवसर” जस्ता सन्देशमार्फत बालविवाह र दाइजो प्रथाविरुद्ध जनचेतना अभिवृद्धि गर्न जोड दिइएको थियो।

आयोजकका अनुसार अभियानको मुख्य उद्देश्य छोरीहरूको शिक्षा, सुरक्षा, समान अवसर र अधिकार सुनिश्चित गर्दै समतामूलक, सभ्य र समृद्ध समाज निर्माणमा टेवा पुर्याउनु रहेको छ।












Discussion about this post