![]()
महेश सिंह,सिरहा लहान – सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–३ महदेवामा जलवायु परिवर्तन तथा हानिकारक कृषि अभ्यास न्यूनीकरणसम्बन्धी जनचेतना मूलक र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कृषक समूहको आयोजनामा सम्पन्न कार्यक्रममा करिब ५० जना सहभागीको उपस्थिति रहेको थियो। कार्यक्रममा जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असर, वातावरण संरक्षण तथा जलवायुमैत्री कृषि अभ्यासका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा फिल्ड सुपरभाइजर रमुना कार्की, पालिका महासंघका अध्यक्ष बेचन प्रसाद यादव, गाउँपालिकाका कृषि शाखा प्रमुख हरिनारायण यादव, जलवायु च्याम्पियन पुनिता महतो र सन्तोष यादव लगायतको सहभागिता रहेको थियो।
महदेवास्थित दुई वटा कृषक समूहका सदस्यहरू सहभागी रहेको कार्यक्रममा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सामूहिक प्रयास आवश्यक रहेको वक्ताहरूले बताएका थिए। सहभागीहरूले जनचेतना र्यालीमार्फत वातावरण संरक्षण, रासायनिक विषादीको न्यून प्रयोग तथा दिगो कृषि प्रणाली अपनाउन स्थानीय समुदायलाई सन्देश दिएका थिए।
कार्यक्रम राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहकार्य तथा केयर नेपालको सहयोगमा सम्पन्न भएको हो। कार्यक्रमले स्थानीय किसानहरूमा जलवायु परिवर्तनका चुनौती र त्यसको सामना गर्ने उपायबारे सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
















Discussion about this post