![]()
लहान एभरेस्ट कलेजको रजत जयन्ती : विशिष्ट व्यक्तित्व सम्मान,रोजगारमुखी शिक्षा र सांस्कृतिक झल्को

महेश सिंह लहान, सिरहा –लहानमा दुई दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको लहान एभरेस्ट कलेज/माध्यमिक विद्यालयलेले २५औं वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। फागुन ७ गते, बुधवार, कलेज प्राङ्गणमा विशेष समारोह आयोजना गरिनेछ।

कलेजका प्रिन्सिपल धरनीधर अधिकारीका अनुसार समाजमा उल्लेखनीय योगदान पुर्याएका विशिष्ट व्यक्तित्व, पूर्वविद्यार्थी तथा समाजसेवामा सक्रिय व्यक्तिहरूलाई सम्मान गरिनेछ। समाजमा शिक्षाको प्रवर्द्धन, सामाजिक विकास तथा कलेजको समृद्धिमा योगदान दिने व्यक्तित्वलाई कलेजले विशेष सम्मान प्रदान गर्ने योजना बनाएको छ।
शिक्षालाई रोजगारसँग जोड्दै, सीपमूलक शिक्षा र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले विशेष कार्यक्रमहरू आयोजना गरिनेछ। विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक प्रतिभा प्रदर्शन गर्न पाउने कला प्रदर्शनी, झाँकी, शैक्षिक गोष्ठी तथा सांस्कृतिक कार्यक्रम प्रमुख आकर्षण रहने छन्।
विद्यालय व्यवस्थापनका अनुसार विद्यार्थीहरूलाई विभिन्न सीप, व्यवसाय तथा उद्यमशीलतासँग जोड्ने कार्यक्रम प्रस्तुत गरिनेछ। कलेजबाट अध्ययन पूरा गरी सफल उद्यमी, व्यवसायी तथा विभिन्न क्षेत्रमा योगदान दिइरहेका पूर्वविद्यार्थीहरूलाई समेत विशेष सम्मान प्रदान गरिनेछ।
समारोहमा सांस्कृतिक कार्यक्रमहरू, विद्यार्थीहरूद्वारा प्रस्तुत नृत्य, नाटक तथा विभिन्न झाँकीहरू प्रदर्शन गरिनेछ। यी कार्यक्रमहरू स्थानीय संस्कृति तथा आधुनिक शिक्षाबीचको सम्बन्ध दर्शाउने गरी प्रस्तुत गरिने कलेज प्रशासनले जनाएको छ।

विद्यालय व्यवस्थापनले अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी तथा सम्पूर्ण सरोकारवालालाई कार्यक्रममा उपस्थित भई समारोहलाई भव्य बनाउन आग्रह गरेको छ।




















Discussion about this post