समय परिवर्तनशील रहेको अवस्थामा कतिपय सामाजिक सांस्कृतिक वस्तुहरू लोपको संहारमा पुगेको अवस्था रहेको देखिन्छ ।
खासगरी हाम्रो समाजमा हिउँद याममा आम किसानले आफ्नो खेतमा लगाइएको धान बालीलाई काटिसकेपछि एक ठाउँमा जम्मा गरेर महिनौ दिनसम्म गोरुलाई कराम (स्थानीय भाषा) मा एक ठाउँमा बाँधेर मेहमा राखेर धानको पराल माथि घुमाउने चलन विगतका वर्षहरुमा ज्यादै प्रचलित रहेको थियो ।
ठाउँ अनुसार फरक फरक किसिमले चिनिने दाउनी प्राय जाडोको समयमा बिहानी पख घुमाउने चलन रहेको थियो ।
दाउनि लगाएको ठाउँमा मानिसहरू भेला भएर दाउनी उल्टाउने पल्टाउने काम गरेर धान निकाल्ने चलन समेत रहेको अवस्थामा दाउनी हाक्ने मान्छेको समुहले बिहानी पख पराती गाउने चलन विगतमा रहे पनि अाज भोलिको आधुनिकताले गर्दा दाउनी प्रथा लोपको अवस्थामा पुगेको देखिन्छ ।
दाउनि गरेको धानलाई स्थानिय स्तरमा शिल हालेर नाङ्लोको सहायताले उडाउने चलन रहेको थियो भने धान उडाई सकेपछि जोख्नु भन्दा पहिले ‘अगो ” राख्ने चलन थियो । अगोमा केहि धान जोखनु भन्दा अगाडी राख्ने चलन रहेको थियो जुन धान अविबाहित छोरीले पाउने चलन रहेको हाम्रो समाजमा यतिबेला यी सबै लोपको अन्तिम अवस्थामा पुगेको देखिन्छ ।
Discussion about this post