![]()
महेश सिंह लहान, सिरहा- सिरहाको नवराजपुर गाउँपालिका–३, फूलबरिया जगतपुरस्थित सहिद रमेश महतो माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भौतिक संरचनाको व्यवस्थापनका विषयमा विद्यालय व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।
विद्यालयको शैक्षिक स्तर उन्नति, शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने तथा विद्यालयको भौतिक संरचनामा सुधार गर्ने उद्देश्यले बैठक आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक शिवनारायण यादवले जानकारी दिनुभयो।
बैठकले विद्यालयको पूर्वतर्फ रहेको जस्तापाताले छाएको भवन भत्काएर नयाँ भवन निर्माण गर्ने विषयमा निर्णय गरेको बताइएको छ। विद्यालयको सौन्दर्य वृद्धि गर्नुका साथै सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण निर्माण गर्न पुरानो भवनको व्यवस्थापन आवश्यक रहेको स्थानीय अभिभावकले बताएका छन्।
विद्यालयको शैक्षिक अवस्था थप सुधार गर्न अभिभावक, शिक्षक तथा व्यवस्थापन समितिबीच नियमित छलफल र सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ छ। विद्यालयको प्रगति सकारात्मक रहेको जनाउँदै स्थानीय अभिभावकले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका छन्।
वडा अध्यक्ष बंशीलाल यादवको रोहबरमा सम्पन्न बैठकमा अभिभावक शम्भु यादव, शिक्षक रामजीवन यादव, राजेशकुमार यादव, शिक्षिका मन्दिरा यादवसहित विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो।
बैठकमा विद्यालयको शैक्षिक सुधार, भौतिक पूर्वाधारको विकास तथा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानाध्यापक यादवले बताउनुभयो।











Discussion about this post