![]()
महेश सिंह लहान सिरहा– विपद्का समयमा सही सूचना समयमै समुदायसम्म पुर्याउने र जोखिममा रहेका नागरिकको सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्माण गरिएको छ।
गौर नगरपालिका, राजपुर नगरपालिका र यमुनामाई गाउँपालिकामा सम्बन्धित स्थानीय तहका विपद् व्यवस्थापन समिति र ओरेक नेपालको प्राविधिक सहकार्यमा सन् २०२६ अक्टोबर १ देखि ८ सम्म योजना निर्माण गरिएको हो।
जलवायु परिवर्तन तथा अन्य कारणले निम्तिन सक्ने बाढी, डुबान, आगलागी र हावाहुरीजस्ता प्राकृतिक विपद्का साथै सर्पदंश, वन्यजन्तुबाट हुने जोखिम, कृषि क्षेत्रमा विद्युतीय करेन्ट, सडक दुर्घटना तथा सामुदायिक द्वन्द्वलाई समेत समेटेर योजना तयार पारिएको छ।
महिला तथा जोखिममा रहेका समुदायको सुरक्षा प्राथमिकतामा
विपद् जोखिम सञ्चार योजनाले विपद्का समयमा सूचना प्रवाहलाई प्रभावकारी बनाउनुका साथै महिला, गर्भवती तथा सुत्केरी महिला, किशोरी, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता तथा सुरक्षालाई विशेष प्राथमिकता दिएको छ।
विपद्का समयमा हुन सक्ने लैङ्गिक हिंसा तथा यौन दुर्व्यवहारको जोखिम न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच र आवश्यक संरक्षण सेवासम्बन्धी सूचना प्रवाहलाई पनि योजनामा महत्त्व दिइएको छ।
विपद्का बेला सबै समुदायसम्म समान रूपमा सूचना पुग्न नसक्दा जोखिममा रहेका व्यक्तिहरू थप प्रभावित हुन सक्ने भएकाले योजना निर्माणमा लैङ्गिक उत्तरदायी, समावेशी र मानव अधिकारमैत्री दृष्टिकोणलाई जोड दिइएको हो।
पूर्वतयारीदेखि पुनर्स्थापनासम्म समन्वय
निर्माण गरिएका योजनाले विपद् आउनुअघि पूर्वतयारी, विपद्का समयमा सूचना प्रवाह तथा प्रतिकार्य र विपद्पछि सुरक्षित पुनर्स्थापनाका लागि स्थानीय तह, समुदाय र सरोकारवाला निकायबीच समन्वयलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
समुदायमा समयमै सही सूचना पुर्याउने, विपद्सम्बन्धी जनचेतना बढाउने तथा सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने योजनाको मुख्य उद्देश्य रहेको छ।
तीनवटै स्थानीय तहका विपद् व्यवस्थापन समितिबाट योजना अनुमोदन भई कार्यपालिकामा निर्णयका लागि पेस गरिएको छ। योजनालाई कार्यपालिकाबाट पारित गरी स्थानीय राजपत्रमा प्रकाशन गर्ने प्रक्रिया अगाडि बढाउन जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन्।
तीनवटै पालिकाको विपद् जोखिम सञ्चार योजना निर्माणमा ओरेक नेपालकी मधेश प्रदेश संयोजक वीणा सिंहले प्राविधिक सहयोग गर्नुभएको थियो।
ओरेक नेपालले योजना निर्माणका क्रममा समन्वय, सहकार्य तथा प्राविधिक सहयोग गर्ने स्थानीय जनप्रतिनिधि, कर्मचारी, विपद् व्यवस्थापन समितिका पदाधिकारी र अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
स्थानीय तहको नेतृत्व, संस्थागत प्रतिबद्धता र समुदायको सक्रिय सहभागिताबाट योजनाको प्रभावकारी कार्यान्वयन हुने तथा विपद्का कारण हुने क्षति न्यूनीकरणमा योगदान पुग्ने विश्वास गरिएको छ।
‘विपद् जोखिम न्यूनीकरण हामी सबैको साझा जिम्मेवारी’ भन्ने मान्यताका साथ तयार गरिएका यी योजनाको प्रभावकारी कार्यान्वयनले समुदायलाई विपद्प्रति थप सचेत र सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।













Discussion about this post