![]()
महेश सिंह लहान सिरहा – नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति सिरहाले सामुदायिक विद्यालयमा कार्यरत राहत अनुदान कोटाका शिक्षक, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको म्याद थप नगर्ने विषयप्रति आपत्ति जनाउँदै निर्णय सच्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।
समितिले २०८३ असोज २० गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत शिक्षक तथा कर्मचारीको पेसागत सुरक्षा र विद्यालयको शैक्षिक गुणस्तरका विषयमा विभिन्न समयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय एकाइ सिरहा तथा स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखामा ज्ञापनपत्र र ध्यानाकर्षणपत्र बुझाउँदै आएको जनाएको छ ।
राष्ट्रिय सतर्कता केन्द्र, काठमाडौँको चलानी नं. २५/२९६६, मिति २०८२/२/११ तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको पत्रको सन्दर्भ उल्लेख गर्दै समितिले राहत अनुदान कोटाका शिक्षक, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको म्याद थपका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
समितिले सिरहाका लहान, सिरहा र धनगढीमाई नगरपालिकासहित सम्बन्धित स्थानीय तह, शिक्षा शाखा तथा विद्यालयका प्रधानाध्यापकलाई शिक्षक तथा कर्मचारीमाथि दबाब सिर्जना गरी म्याद थप नगर्ने प्रक्रिया अघि नबढाउन आग्रह गरेको छ ।
नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति सिरहाका अध्यक्ष किशुन देव यादवले माग सम्बोधन नभए जिल्लाभरिका राहत शिक्षक, बालविकास शिक्षक, विद्यालय सहयोगी तथा अन्य विद्यालय कर्मचारी संयुक्त रूपमा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । आन्दोलनबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिनुपर्ने उहाँको भनाइ छ ।
यसैबीच, नेपालीहरूको महान् पर्व दसैँ तथा दीपावलीको मुखमा राहत शिक्षकलाई मानसिक तनाव दिने गरी निर्णय गरिएको भन्दै शिक्षकहरूले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले अघि सारेको शिक्षा नीतिमा राहत शिक्षकको म्याद थपसम्बन्धी व्यवस्था अस्वीकार्य रहेको उनीहरूको भनाइ छ ।
शिक्षक क्रान्ति कुमार साहले सम्बन्धित निर्णय फिर्ता नलिए देशभरिका राहत शिक्षकलाई काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी गराउने तयारी रहेको बताउनुभयो ।
शिक्षकहरूले आफ्ना माग सम्बोधन गरी पेसागत सुरक्षा सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन् ।












Discussion about this post