![]()
महेश सिंह,लहान सिरहा -सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको करिब रु १९ करोड १५ लाखको लागतमा निर्माण भएको १५ शैय्याको आधारभूत नगर अस्पताल बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
नगर अस्पताल सञ्चालनमा आएसँगै सुखीपुर नगरपालिका तथा आसपासका करिब आधा दर्जन स्थानीय तहका नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने बाटो खुलेको छ। अस्पताल सञ्चालन हुनुअघि सामान्यदेखि आकस्मिक स्वास्थ्य समस्या पर्दासमेत उपचारका लागि टाढाका स्वास्थ्य संस्था तथा अस्पताल पुग्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ।
अस्पताल सञ्चालनले विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई समयमै स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। स्थानीय रामगुण साहले आफ्नै क्षेत्रमा १५ शैय्याको अस्पताल सञ्चालनमा आउनु नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।

उद्घाटन समारोहका प्रमुख अतिथि मधेश प्रदेशका पूर्वस्वास्थ्यमन्त्री शत्रुधन प्रसाद सिंह कोईरीले संघीय सरकारको लगानीमा निर्माण भएको अस्पतालबाट आधारभूत तहका स्वास्थ्य सेवा उपलब्ध हुने बताउनुभयो। अस्पताल सञ्चालनसँगै उपचारका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता घट्नुका साथै स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने उहाँको भनाइ थियो।
अस्पताल निर्माणका लागि सुखीपुर निवासी लक्ष्मण चौधरीले एक बिघा एक कठ्ठा एक धुर जग्गा दान गर्नुभएको हो। जग्गा दाताको योगदानमा निर्माण भएको अस्पताल सञ्चालनमा आएपछि सुखीपुरसहित आसपासका बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने भएका छन्।

नगर प्रमुख रामऔतार यादवले अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य उपकरणको नियमित उपलब्धता सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको विश्वास छ।
उद्घाटन समारोहमा अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने दाता परिवारलाई नगर प्रमुख यादव र प्रमुख अतिथि कोईरीले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो।














Discussion about this post