![]()
महेश सिंह, लहान–सिरहाको धनगढीमाई नगरपालिका–८ कसहा चोकमा सञ्चालनमा रहेको सरस्वती मोडेल स्कुलले प्राकृतिक विपद्मा परेका नागरिकको सहयोगका लागि ४१ हजार रुपैयाँ सहयोग गरेको छ।
रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि विद्यालयले उक्त रकम सहयोग गरेको हो। विद्यालयले संकलन गरेको रकम प्याब्सन रिलिफ फाउण्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको जनाइएको छ।
विद्यालयका संस्थापक/प्रिन्सिपल बिष्णु न्यौपानेका अनुसार विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले विद्यालय परिवारको सहभागितामा सहयोग रकम जुटाइएको हो। विद्यार्थी, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यालय व्यवस्थापनको सहभागिताले राहत अभियानलाई प्रभावकारी बनाउन सहयोग पुगेको उहाँले बताउनुभयो।
न्यौपानेले शिक्षाको उद्देश्य केवल पाठ्यपुस्तकको ज्ञान र राम्रो अंक प्राप्त गर्नमा मात्र सीमित नभई विद्यार्थीमा सेवा, सहयोग, करुणा र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नु पनि रहेको बताउनुभयो।
विद्यालयसँग सम्बद्ध स्थानीयका अनुसार संस्थापक/प्रिन्सिपल न्यौपानेले लामो समयदेखि विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। विपद्मा परेका नागरिकलाई विद्यालयको तर्फबाट सहयोग गर्नु पनि उहाँको निरन्तर सामाजिक सेवाकै एउटा हिस्सा भएको स्थानीयको भनाइ छ।
बाढीबाट प्रभावित परिवारका लागि सरस्वती मोडेल स्कुलले गरेको सहयोगले राहतमा प्रत्यक्ष योगदान पुर्याउनुका साथै विपद्को समयमा शैक्षिक संस्था र समुदायबीचको सामाजिक एकताको सन्देश समेत दिएको छ।
विद्यालयले आगामी दिनमा पनि सामाजिक आवश्यकता र मानवीय सेवाका क्षेत्रमा आफ्नो क्षमताअनुसार सहयोगलाई निरन्तरता दिने जनाएको छ।












Discussion about this post