![]()
महेश सिंह,लहान सिरहा– सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ पर्सा पोखरभिण्डाका चन्द्रशेखर यादव विद्यार्थी आन्दोलन हुँदै सामाजिक अभियान, प्राविधिक सेवा, शिक्षण, उद्यमशीलता र जनसरोकारका मुद्दामार्फत राजनीतिक यात्रामा अघि बढेका छन्।
विद्यार्थी जीवनमा आन्दोलनसँग जोडिएका यादवले पछिल्लो समय शिक्षा, कृषि, युवा, महिला सशक्तीकरण, सार्वजनिक सम्पत्तिको संरक्षण र सुशासनका विषयमा सक्रियता देखाउँदै आएका छन्। पछिल्लो जेन्जी आन्दोलनपछि उनको राजनीतिक यात्राले थप गति लिएको र उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएको बताइएको छ।
प्राविधिक ज्ञान र सामाजिक अनुभवको संगम
यादवले डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा समाजशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका छन्। उनले सिँचाइ कार्यालयमा करिब दुई वर्ष प्राविधिकका रूपमा तथा पब्लिक टेक्निकल कलेजमा करिब तीन वर्ष शिक्षकका रूपमा काम गरेको विवरण छ।
प्राविधिक क्षेत्रमा काम गर्दा किसान र ग्रामीण पूर्वाधारका समस्या तथा शिक्षणका क्रममा विद्यार्थी र युवाका समस्या नजिकबाट बुझ्ने अवसर पाएको उनको भनाइ छ।
किसान, युवा र महिलाका मुद्दा प्राथमिकतामा
कृषि प्रधान लक्ष्मीपुर पतारी क्षेत्रमा सिँचाइ, विद्युत्, मलखाद तथा किसानका समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको यादवले बताएका छन्।
युवालाई राजनीतिक भीडका रूपमा मात्र प्रयोग नगरी सीप, रोजगारी र उद्यमशीलतासँग जोड्नुपर्ने उनको धारणा छ। प्लम्बिङ, इलेक्ट्रिसियन तथा मोटरसाइकल मर्मतजस्ता सीपमूलक कार्यक्रम सञ्चालन गरेको उनले बताएका छन्।
महिलाका लागि सिलाइ–कटाइ, साबुन बनाउने तथा ब्युटी पार्लरसम्बन्धी तालिम सञ्चालन गरी सीपलाई आयआर्जनसँग जोड्ने प्रयाससमेत गरिएको उनको दाबी छ।
शिक्षा र सुशासनमा आवाज
सामुदायिक विद्यालयमा देखिएका समस्या तथा भनिएका अनियमितताका विषयमा आवाज उठाउँदै आएको यादवको भनाइ छ। विद्यालयमा पारदर्शिता, गुणस्तर र जवाफदेहिता कायम हुनुपर्ने उनको जोड छ।
सार्वजनिक प्रयोजनका जग्गा तथा सम्पत्तिको संरक्षण, लागूऔषधविरुद्ध जनचेतना, सरसफाइ, रक्तदान तथा स्वास्थ्य शिविरलगायतका सामाजिक अभियानमा समेत सहभागी भएको उनले बताएका छन्। उनले हालसम्म १४ पटक रक्तदान गरेको विवरणसमेत प्रस्तुत गरेका छन्।
अब राजनीतिक यात्राको परीक्षा
सामाजिक अभियानबाट राजनीतिमा प्रवेश गरेका यादवका लागि अब उठाउँदै आएका मुद्दालाई नीति, योजना र परिणाममा रूपान्तरण गर्नु मुख्य चुनौती बनेको छ।
उनले लक्ष्मीपुर पतारीको विकासका लागि सुशासन, कृषि, युवा, शिक्षा–स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेका छन्। स्थानीय निर्वाचनको सन्दर्भमा आफूलाई जनताको रोजाइको बलियो युवा नेतृत्वका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढेको उनीनिकट व्यक्तिहरू बताउँछन्।
यद्यपि उम्मेदवारको वास्तविक शक्ति संगठनात्मक समर्थन, जनताको विश्वास र निर्वाचन परिणामबाट निर्धारण हुनेछ। विगतमा सामाजिक अभियानमार्फत उठाएका आवाजलाई राजनीतिक जिम्मेवारीमा पुगेपछि कति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्छन् भन्ने कुराले नै चन्द्रशेखर यादवको आगामी राजनीतिक यात्राको मूल्यांकन गर्नेछ।














Discussion about this post