![]()
महेश सिंह लहान सिरहा –आगामी २०८४ सालमा हुने निर्वाचनमा महिला सहभागिता र नेतृत्वलाई प्राथमिकता दिन सिरहामा ‘अनुपम अभियान’ सञ्चालन गरिएको छ। ‘महिला पहिला’ भन्ने मूल नारासहित अन्तरपुस्ता महिला मञ्चको आयोजनामा देशव्यापी रूपमा सुरु गरिएको अभियानअन्तर्गत सिरहाको कर्जनहा नगरपालिका र नरहा गाउँपालिकामा अभियान सम्पन्न भएको हो।
सिरहामा महिला अधिकारकर्मी रिता महतोको नेतृत्वमा अभियान सञ्चालन भइरहेको छ। सिरहासहित मधेस प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहमा अभियानलाई निरन्तरता दिइएको अभियानी महतोले जानकारी दिनुभयो।
कर्जनहा नगरपालिकाकी उपप्रमुख लक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उल्लेखनीय संख्यामा महिलाको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी महिलाहरूले आगामी निर्वाचनमा महिलाको राजनीतिक सहभागिता बढाउनुपर्नेमा जोड दिँदै निर्वाचनका प्रमुख पदमा समेत उम्मेदवारी दिने प्रतिबद्धता जनाएका छन्।
अभियानले महिलालाई घरपरिवारको जिम्मेवारी सम्हाल्ने भूमिकामै सीमित नराखी राज्य सञ्चालन तथा नेतृत्व तहमा समेत सक्रिय सहभागिता गराउने उद्देश्य राखेको आयोजकले जनाएको छ।
अभियानका क्रममा ‘घर चलाउने महिलाले देश चलाउन सक्छन्’ भन्ने नारासहित महिलाको नेतृत्व क्षमता, राजनीतिक सहभागिता तथा निर्णय प्रक्रियामा समान प्रतिनिधित्वको विषय उठाइएको अभियानी करुणा साहले जानकारी दिनुभयो। अभियान सिरहाबाट सुरु भई मधेस प्रदेशका विभिन्न स्थानीय तह हुँदै देशभर सञ्चालन भइरहेको आयोजकले जनाएको छ।











Discussion about this post