![]()
महेश सिंह,लहान सिरहा– ग्रामीण महिलाको उद्यमशीलता विकास, आर्थिक आत्मनिर्भरता अभिवृद्धि तथा दिगो कृषि प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय कृषक समूह महासंघ, नेपालको आयोजनामा पदाधिकारी तथा अगुवा किसानहरूको क्षमता विकास कार्यशाला सम्पन्न भएको छ।
‘ग्रामीण महिलाहरूको उदयः बेजोड ३० सँग लचिलो भविष्य निर्माण’ भन्ने मूल सन्दर्भमा आयोजित कार्यशाला २०८३ असोज २८ गते राजविराजमा सम्पन्न भएको हो। १९औँ अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस तथा ४६औँ विश्व खाद्य दिवस–२०२६ को अवसरमा आयोजित कार्यक्रममा सप्तरीका छ स्थानीय तहका महासंघमा आबद्ध ३२ जना महिला तथा पुरुष अगुवा किसानहरूको सहभागिता रहेको थियो।
कार्यशालामा बलान बिहुल गाउँपालिका, रुपनी गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका तथा सप्तकोशी नगरपालिकाका अगुवा किसानहरूको सहभागिता रहेको थियो।
कार्यशालाको सहजीकरण राष्ट्रिय कृषक समुह महासंघका केन्द्रिय अध्यक्ष पञ्चकाजी श्रेष्ठ,निर्देशक केदार कोइराला मधेस प्रदेश सचिव यामुनप्रसाद यादव,मधेस प्रदेश कार्यक्रम संयोजक दिलीप साहले गर्नु भएको थियोे।उक्त कार्यक्रममा जिल्ला अध्यक्ष तेजनारायण यादवको सहभागी रहेको थियो। त्यसैगरी, रुपनी गाउँपालिकाका अभियन्ता चन्द्रशेखर मण्डलको समेत सहभागिता रहेको थियो।
कार्यशालामा ग्रामीण महिलाको नेतृत्व क्षमता विकास, कृषि उद्यमशीलता प्रवर्द्धन, आयआर्जनका अवसर विस्तार तथा किसानको संस्थागत क्षमता अभिवृद्धिका विषयमा छलफल गरिएको थियो। ग्रामीण महिलालाई कृषि उत्पादन र व्यावसायिक गतिविधिमा सक्रिय बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउन आवश्यक ज्ञान, सीप र अवसर विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो।
त्यसैगरी, जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा पर्ने प्रभाव न्यूनीकरण, पोषण सुरक्षा, खाद्य अधिकार तथा दिगो कृषि प्रणालीका विषयमा समेत प्रशिक्षण दिइएको थियो। बदलिँदो जलवायुका कारण किसानले भोग्नुपरेका चुनौतीको सामना गर्न अनुकूलन क्षमता विकास गर्नुका साथै कृषि उत्पादनलाई दिगो र व्यावसायिक बनाउनुपर्ने विषयमा सहभागीलाई जानकारी गराइएको थियो।
किसानको क्षमता विकाससँगै ग्रामीण महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई प्राथमिकता दिन सके कृषि क्षेत्रको उत्पादन र ग्रामीण समुदायको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस्ता कार्यक्रमले किसानबीच अनुभव आदानप्रदान, संस्थागत सहकार्य र नेतृत्व विकासमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रममा केयर नेपाल (CARE Nepal) को सहयोग रहेको थियो भने आयोजना राष्ट्रिय कृषक समूह महासंघ, नेपालले गरेको हो।














Discussion about this post