![]()
महेश सिंह,लहान सिरहा –थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सिरहाको लहानमा १५ दिने ‘थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला–२०८३’ आयोजना हुने भएको छ।
आयोजकले आज लहानमा पत्रकार सम्मेलन गरी यही असोज २५ गते आइतबार घटस्थापनाका दिन मेलाको उद्घाटन गरिने जानकारी दिएको हो। उद्घाटन कार्यक्रम दिउँसो १ बजे हुने मेलाका प्रवक्ता अजय चौधरीले जानकारी दिनुभयो।
लहानस्थित पशुपति माध्यमिक विद्यालयको खेलमैदानमा विद्यालयको अनुमतिमा सञ्चालन हुने मेलाले दशैंको लामो बिदा तथा चाडपर्वको अवसरलाई लक्षित गरेको मेला संयोजक दशमिलाल चौधरीले बताउनुभयो।
उहाँका अनुसार मेलाले मनोरञ्जनसँगै थारु समुदायको मौलिक कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सहयोग पुर्याउनेछ। विशेषगरी संरक्षणको अभावमा लोप हुँदै गएका लोकनृत्य, गीत तथा सांस्कृतिक परम्परालाई मेलामार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।

मेलामा धुमरा, सखिया, झिझिया, सामा–चकेवा लगायतका मौलिक नृत्य तथा पौराणिक गीत–संगीत प्रस्तुत गरिनेछ। थारु समुदायका परम्परागत खानाका परिकारसहित विभिन्न खाद्य तथा सांस्कृतिक सामग्रीका स्टलसमेत राखिने जनाइएको छ।
आयोजकका अनुसार मेलामा बगिया, घोंघी, सितुवा, कोकरा, तेलपुरी, भका, पेरवा र सिध्रा लगायतका परम्परागत परिकारको स्वाद लिन सकिनेछ। त्यस्तै थारु भेषभूषा, गहना, हस्तकला, परम्परागत सामग्री तथा स्थानीय प्रविधिको प्रदर्शनी र बिक्रीसमेत गरिनेछ।
मेलामा सांस्कृतिक झाँकी, स्थानीय कला तथा संगीत प्रस्तुति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, पहलमानी जलपरी, झुला तथा बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक खेलसमेत रहने आयोजकले जनाएको छ।
प्रवक्ता चौधरीले मेला थारु समुदायको संस्कृति प्रदर्शनमा मात्र सीमित नरही विभिन्न जातजातिका मौलिक कला, संस्कृति र परम्परालाई समेत समेटेर सांस्कृतिक आदानप्रदानको साझा थलो बनाउने उद्देश्य रहेको बताउनुभयो।
उहाँले मेलाले विभिन्न समुदायबीच आपसी भाइचारा, सद्भाव र सामाजिक एकता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
आयोजकले मौलिक कला, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनको अभियानलाई व्यापक बनाउन सञ्चारकर्मी तथा पत्रकारलाई समाचार सम्प्रेषण र प्रचार–प्रसारमार्फत सहयोग गरिदिन आग्रह गरेको छ।












Discussion about this post