![]()
महेश सिंह, लहान,सिरहा-आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले वडा तहबाटै संगठनलाई चलायमान बनाउने रणनीतिसहित सांगठनिक गतिविधिलाई तीव्रता दिन थालेको छ। यसैक्रममा नेपाली कांग्रेस वडा नं. २२ मा संगठन विस्तार, आन्तरिक एकता र चुनावी तयारीका विषयमा केन्द्रित छलफल तथा विचार–विमर्श कार्यक्रम सम्पन्न भएको छ।
वडा सभापति हरेराम चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर सभापति उमेश चौधरीसहित क्षेत्रीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पार्टीको सांगठनिक अवस्थाको समीक्षा गर्दै आगामी राजनीतिक चुनौती सामना गर्न वडा तहको संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउनुपर्ने विषयले प्राथमिकता पाएको थियो।
छलफलमा निर्वाचनका बेला मात्रै नभई नियमित रूपमा जनतामाझ पुग्ने, स्थानीयका समस्या र आवश्यकता बुझ्ने तथा पार्टीका नीति, विचार र एजेन्डालाई जनस्तरसम्म पुर्याउने विषयमा जोड दिइएको थियो। नेताहरूले जनताको विश्वास जित्न संगठनात्मक मजबुतीसँगै कार्यकर्ताको सक्रियता र जनसम्बन्ध विस्तार अपरिहार्य रहेको धारणा राखेका थिए।
त्यसैगरी पार्टीभित्र देखिन सक्ने आन्तरिक मतभेदलाई संवाद र सहकार्यबाट समाधान गर्दै आपसी एकता, अनुशासन र समन्वय कायम राख्नुपर्ने विषयमा समेत छलफल भएको थियो। वडा तहमा नयाँ सदस्य तथा युवालाई संगठनमा जोड्दै पार्टीको आधार बलियो बनाउने विषयलाई पनि महत्त्वका साथ उठाइएको थियो।
कार्यक्रममा सहभागी नेताहरू तथा क्षेत्रीय प्रतिनिधिहरूले आगामी निर्वाचनलाई प्रभावकारी बनाउन अहिलेदेखि नै योजनाबद्ध रूपमा संगठन परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कांग्रेस वडा नं. २२ को यो छलफललाई आगामी निर्वाचनको तयारीसँगै स्थानीयस्तरमा पार्टीको जनाधार मजबुत बनाउने र संगठनलाई थप क्रियाशील बनाउने प्रयासका रूपमा हेरिएको छ।













Discussion about this post