![]()
महेश सिंह, लहान–सिरहा-उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा व्याप्त राजनीतिक अस्थिरता, बेथिति, अन्योलता र विभेद अन्त्य गर्दै राजनीतिक क्षेत्रमा नयाँ उज्यालो ल्याउने उद्घोष गरेका छन्। विद्युत् क्षेत्रमा लोडसेडिङ अन्त्य गरेको अनुभवलाई राजनीतिक परिवर्तनसँग जोड्दै उनले अब देशको राजनीतिमा पनि उज्यालो आवश्यक रहेको बताएका हुन्।

छठ पर्वको अवसरमा सिरहा–सप्तरी भ्रमणमा रहेका घिसिङले सिरहाको गोलबजार नगरपालिका–१० स्थित धरमपुर गाउँमा स्थानीयवासीसँगको भेटघाट तथा अन्तरक्रियाका क्रममा आफ्नो राजनीतिक लक्ष्य सार्वजनिक गरेका हुन्।
विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा पानीबाट विद्युत् उत्पादन गरी देशलाई लोडसेडिङमुक्त बनाउन खेलेको भूमिकाको स्मरण गर्दै उनले अब राजनीतिक क्षेत्रमा देखिएको निराशा, अन्योल र बेथितिको अन्त्य गर्ने अभियानमा लागेको बताए।

उनले विगतमा आफ्नो स्वच्छ भावनामाथि राजनीतिक हत्या गरिएको टिप्पणी गर्दै अब त्यस्तो परिस्थितिको सिकार नहुने स्पष्ट पारे। “मेरो स्वच्छ भावनामाथि विगतमा राजनीतिक हत्या भयो। तर अब म त्यस्तो राजनीतिक हत्याको सिकार हुने छैन,” उनले भने।
घिसिङले विद्युत् क्षेत्रमा सम्भव बनाइएको परिवर्तन राजनीतिक क्षेत्रमा पनि सम्भव रहेको दाबी गरे। “जसरी पानीबाट विद्युत् उत्पादन गरेर देशमा लोडसेडिङको अन्त्य गरियो, त्यसरी नै अब राजनीतिको लोडसेडिङ अन्त्य गर्छु,” उनले भने।
उनको अभिव्यक्तिले परम्परागत राजनीतिक अभ्यासप्रति असन्तुष्ट नागरिकलाई नयाँ राजनीतिक विकल्पको सन्देश दिने प्रयास गरेको देखिन्छ। विद्युत् क्षेत्रमा आफ्नो कार्यसम्पादनबाट स्थापित भएको पहिचानलाई राजनीतिक सुधारको एजेन्डासँग जोड्दै घिसिङले देशमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसै क्रममा उनले आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई दिल र मनदेखि मतदान गर्न स्थानीय मतदातासँग अपिलसमेत गरे। देशमा सुशासन, राजनीतिक स्थिरता र सकारात्मक परिवर्तनका लागि आफ्नो पार्टीलाई साथ दिन उनले आग्रह गरेका थिए।
छठ पर्वको अवसर पारेर सिरहा र सप्तरी पुगेका घिसिङले विभिन्न स्थानमा स्थानीय नागरिक, शुभेच्छुक तथा पार्टीका नेता–कार्यकर्तासँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम राखेका थिए।
विद्युत् क्षेत्रको सफलताको छविलाई राजनीतिक नेतृत्वमा रूपान्तरण गर्ने प्रयासमा रहेका घिसिङको ‘राजनीतिको लोडसेडिङ अन्त्य गर्ने’ अभिव्यक्तिलाई आगामी निर्वाचन केन्द्रित राजनीतिक सन्देशका रूपमा समेत हेरिएको छ।











Discussion about this post