![]()
महेश सिंह,लहान सिरहा, समयले दुई दशकको दूरी तय गर्यो, जीवनका बाटाहरू फरक–फरक भए, जिम्मेवारी र व्यस्तताले पुराना सम्बन्ध ओझेलमा पर्दै गए। तर विद्यालय जीवनका सम्झना र गुरुहरूप्रतिको सम्मानले सिरहाको लहानमा २०६० सालका एसएलसी ब्याचका विद्यार्थीलाई पुनः एउटै ठाउँमा जुटाएको छ।
लहान नगरपालिका–३ रघुनाथपुरस्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा आयोजित पूर्वविद्यार्थी भेटघाट तथा शिक्षक सम्मान कार्यक्रमले पुरानो मित्रता, आत्मीयता र गुरु–शिष्य सम्बन्धलाई पुनः जीवन्त बनाएको छ।
लामो समयपछि विद्यालयको आँगनमा भेला भएका पूर्वविद्यार्थीहरूले आफूलाई अक्षर चिनाउने र जीवनको बाटो देखाउने गुरुहरूलाई सम्मान गर्दै विगतका अविस्मरणीय क्षणहरू स्मरण गरे। कुनै समय एउटै कक्षाकोठामा बसेर भविष्यको सपना देखेका साथीहरूबीच भेटघाट हुँदा कार्यक्रम भावनात्मक र आत्मीय बनेको थियो।
मोहम्मद रइज आलमको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन पूर्वशिक्षक रासलाल सिंहले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए। कार्यक्रममा शिक्षक सम्मानसँगै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति र मैथिली गायक मुकेश यादवको सांगीतिक प्रस्तुतिले थप रौनकता थपेको थियो। कार्यक्रमको सञ्चालन पुष्कर खतिवडाले गरेका थिए।
विद्यालयकी संस्थापक तथा सञ्चालक ललिता देवी कुशवाहाले शिक्षकहरूको निरन्तर मेहनत, समर्पण र योगदानकै कारण विद्यालयले वर्तमान उचाइ हासिल गर्न सफल भएको बताइन्। आफूले शिक्षा दिएका विद्यार्थीहरू विभिन्न क्षेत्रमा स्थापित भएको देख्दा गर्व महसुस हुने उल्लेख गर्दै उनले पुराना विद्यार्थीहरूसँग पुनः भेटघाट गर्न पाउँदा खुसी व्यक्त गरिन्। उनले आगामी दिनमा विद्यालयमा आउने शिक्षकहरूको शैक्षिक गुणस्तर र जिम्मेवारीप्रति पनि चिन्ता व्यक्त गरिन्।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवशंकर महतोसहित शिक्षकहरू ओमप्रकाश महतो, सुभद्रा आचार्य, रेणु देवी सिंह, चन्देश्वर महतो, रामनारायण शाह, पशुपति शाह, उपेन्द्र यादव, बद्री यादव, श्यामसुन्दर महतो र पुनम यादव सहभागी थिए। पूर्वशिक्षक राजकुमार चौधरी र श्रीराम महतोको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा २०६० सालका एसएलसी ब्याचका दिवंगत विद्यार्थी स्वर्गीय लक्ष्मण महतोकी श्रीमती सूर्यकला महतो र स्वर्गीय सरोज शर्माकी आमा तुत्की देवी शर्माको उपस्थितिले कार्यक्रमलाई थप भावनात्मक बनाएको थियो।
कार्यक्रमका संयोजक दीपक शाह र शिवराम महतोले पूर्वविद्यार्थीहरूबीचको सम्बन्धलाई पुनः जोड्ने र विद्यालयसँगको आत्मीयता कायम राख्ने उद्देश्यले भेटघाट आयोजना गरिएको बताए। साथी वा उनका परिवारमा कुनै समस्या आइपरे सामूहिक रूपमा साथ र सहयोग गर्ने प्रतिबद्धतासमेत उनीहरूले व्यक्त गरे।
कार्यक्रम केवल भेटघाट र सम्मानमा सीमित रहेन। यसले शिक्षा दिने गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्नुका साथै पुराना मित्रतामार्फत सामाजिक एकता र सहकार्यको सन्देशसमेत दिएको छ। दुई दशकअघिको विद्यालय जीवनलाई स्मृतिमा ताजा बनाउँदै सम्पन्न भेटघाटले गुरु र शिष्यबीचको सम्बन्ध समय र दूरीले कमजोर नहुने सन्देश दिएको दिपक साहले जानकारी दिनु भयो।











Discussion about this post