![]()
महेश सिंह लहान सिरहा – मधेस प्रदेशमा राष्ट्रिय क्याडेट कोर (एनसीसी) का क्याडेटहरूलाई सामाजिक सेवा, मानवीय सहयोग तथा विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरिएको छ।
२०८३ मंसिर २ गते नाइटिङ्गेल स्कुलमा सञ्चालित ५२औँ जुनियर डिभिजन तालिममा सहभागी क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा एनसीसी एलुम्नाई एसोसिएसन (एनसीसीएए) मधेस प्रदेशका सचिव लक्ष्मण शर्माले ३० जना एनसीसी क्याडेटसँग अन्तरक्रिया गर्दै सामाजिक सेवाको महत्त्वबारे जानकारी गराउनुभयो।
उहाँले समाजमा कुनै पनि प्रकारको विपद्, आपत्कालीन अवस्था तथा मानवीय संकट उत्पन्न हुँदा क्याडेटहरूले जिम्मेवार नागरिकका रूपमा अग्रसर भई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। साथै, सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउन क्याडेटहरूलाई हौसला तथा प्रेरणा प्रदान गर्नुभयो।
अन्तरक्रियाका क्रममा शर्माले एनसीसीएएको उद्देश्य, आवश्यकता, योग्यता, समिति तथा संगठनको काम, कर्तव्य र अधिकारलगायत समग्र विषयमा विस्तृत जानकारी गराउनुभयो।
उहाँले एनसीसीको तालिमले अनुशासन, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र सेवाभावको विकास गर्ने उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा उतार्न क्याडेटहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रमले क्याडेटहरूमा सामाजिक सेवाप्रतिको भावना अभिवृद्धि गर्नुका साथै विपद्का समयमा स्वयंसेवकका रूपमा परिचालित हुन थप प्रेरणा प्रदान गरेको विश्वास गरिएको छ।











Discussion about this post