![]()
महेश सिंह लहान सिरहा – विद्यालयको कक्षाकोठासम्म पुग्न नसकेका वा बीचमै पढाइ छाडेका नागरिकलाई पुनः सिकाइको अवसर दिने उद्देश्यले सिरहाको नरहा गाउँपालिकाले अनौपचारिक शिक्षा र आजीवन सिकाइलाई स्थानीय कार्यक्रमको हिस्सा बनाएको छ।
गाउँपालिकाले औपचारिक शिक्षाको पहुँचबाट बाहिर रहेका बालबालिका, युवा तथा वयस्कलाई लक्षित गर्दै ‘अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८३’ कार्यान्वयनमा ल्याएको हो। कार्यविधिले शिक्षा उमेर वा विद्यालयको चारपर्खालमा मात्र सीमित नहुने अवधारणालाई अघि सारेको छ।
गाउँपालिकाको कार्यपालिका बैठकले भदौ ५ गते उक्त कार्यविधि पारित गरेको सबल नेपालका कार्यक्रम संयोजक राधेश्याम रामले जानकारी दिए। उनका अनुसार स्थानीय आवश्यकताका आधारमा अनौपचारिक शिक्षा केन्द्र तथा आजीवन सिकाइका कार्यक्रम सञ्चालन गर्न कार्यविधिले बाटो खुला गरेको छ।

कार्यविधिअनुसार विद्यालय जानबाट वञ्चित, बीचमै पढाइ छाडेका तथा विभिन्न कारणले औपचारिक शिक्षा लिन नसकेका नागरिकलाई साक्षरता, आधारभूत शिक्षा र सीप विकाससँग जोडिनेछ। त्यसका साथै दैनिक जीवनमा उपयोगी व्यवहारिक ज्ञान तथा सीप प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
नरहाले औपचारिक शिक्षाको पहुँचमा नआएका नागरिकलाई मात्र नभई समुदायमा रहेका ज्ञान, सीप र अनुभवलाई समेत सिकाइको स्रोतका रूपमा उपयोग गर्ने नीति अघि सारेको छ। स्थानीयस्तरमा पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका सीप र अनुभवलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने विषयलाई पनि कार्यविधिमा प्राथमिकता दिइएको छ।
गाउँपालिका अध्यक्ष रामप्रमोद यादवले कार्यविधि निर्माण सामूहिक प्रयासको परिणाम भएको बताए। यसको प्रभावकारी कार्यान्वयनका लागि गाउँपालिका, वडा, शैक्षिक संस्था, समुदाय तथा सहयोगी संस्थाबीच सहकार्य आवश्यक रहेको उनले बताए।
“कार्यविधि पारित गर्नु मात्रै उपलब्धि होइन, यसको प्रभावकारी कार्यान्वयन अझ महत्वपूर्ण छ,” अध्यक्ष यादवले भने, “सबै नागरिकलाई निरन्तर सिकाइको अवसर उपलब्ध गराउने हाम्रो प्रयास हो।”

कार्यक्रम कार्यान्वयनका क्रममा गाउँपालिकाले सम्बन्धित शाखा, वडा कार्यालय, सामुदायिक संस्था, शैक्षिक संस्था तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्नेछ। कार्यक्रमको प्रभावकारिता अनुगमन तथा मूल्यांकनका लागि आवश्यक संयन्त्र निर्माण गर्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ।
सबल नेपाल र केयर नेपाललगायतका संस्थाको सहकार्यमा अघि बढाइएको यो पहलले विद्यालय बाहिर रहेका नागरिकलाई पुनः सिकाइसँग जोड्नुका साथै स्थानीय तहमा सीप र ज्ञान विकासको वातावरण बनाउन सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ।
गाउँपालिकाले उपाध्यक्ष गुलाब चौधरी, प्रमुख प्रशासकीय अधिकृत उदितकुमार कर्ण, सबल नेपाल तथा केयर नेपालका प्रतिनिधिलगायतको उपस्थितिमा कार्यक्रममार्फत कार्यविधिको कार्यान्वयनबारे जानकारी गराएको थियो।











Discussion about this post