![]()
महेश सिंह, लहान सिरहा-सिरहाको लहान नगरपालिका–१२ भोटियाटोलमा सञ्चालित परोपकार हेल्थ केयर प्रालिका सञ्चालक डा. कासिन्द्र मेहरा सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै सम्मानित भएका छन्।
विश्व हिन्दु परिषद् नेपाल, सिरहा जिल्ला कार्यसमितिले सामाजिक रूपान्तरण तथा सेवामूलक कार्यमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै डा. मेहरालाई सम्मान गरेको हो।
विश्व हिन्दु परिषद् नेपाल सिरहाका जिल्ला अध्यक्ष शिवदेव साह, लहान नगर अध्यक्ष मुना उपाध्याय, पूर्व जिल्ला अध्यक्ष मनोज यादव, कोषाध्यक्ष ज्ञानेन्द्र विक्रम साह, फुलो मण्डल, शिवराम यादव, पवन यादव लगायतका पदाधिकारी तथा सदस्यहरूले उनलाई सम्मान गरेका हुन्।
डा. मेहरा स्वास्थ्य सेवासँगै सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन्। विशेषगरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका गरिब, दलित र विपन्न समुदायका नागरिकको पीडा र समस्यालाई बुझ्दै उनीहरूलाई उपचार सेवा प्रदान गर्दै आएको बताइएको छ।
परोपकार हेल्थ केयर प्रालिमा पक्षघात (लकवा), गठिया तथा बाथरोगसम्बन्धी समस्या भएका बिरामीहरू उपचारका लागि आउने गरेको जनाइएको छ। उनको उपचार सेवाप्रति बिरामीहरूको आकर्षण बढ्दै गएको र स्वास्थ्य केन्द्रमा उपचार गराउन आउनेहरूको भिड लाग्ने गरेको स्थानीयले बताएका छन्।
इमानदार, सरल स्वभाव र सेवाभावका कारण परिचित डा. मेहराले स्वास्थ्य सेवालाई व्यवसायमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाउँदै आएका छन्।
सम्मानले सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरूलाई थप प्रोत्साहन मिल्ने विश्वास विश्व हिन्दु परिषद् नेपाल, सिरहा जिल्ला कार्यसमितिले व्यक्त गरेको छ।












Discussion about this post