![]()
महेश सिंह, लहान सिरहा-जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिका नवनियुक्त सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। जनकपुरधामस्थित मिथिला विकास कोषमा आयोजित एक कार्यक्रमबीच उनीहरूले शपथ ग्रहण गरेका हुन्।
जसपा नेपाल मधेश प्रदेश समितिका अध्यक्ष बालकिशोर प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश समितिका नवनियुक्त सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइएको थियो।
शपथ ग्रहण गर्नेहरूमा सिरहाको नरहा गाउँपालिकाका युवा नेता विजय कुमार यादवसहित दर्जनौँ नेता तथा कार्यकर्ता रहेका छन्।
शपथ ग्रहणपछि नवनियुक्त सदस्यहरूले मधेशको अधिकार, पहिचान, सम्मान र समृद्धिका लागि प्रतिबद्ध भएर काम गर्ने संकल्प व्यक्त गरेका छन्। उनीहरूले पार्टीको संगठनलाई गाउँदेखि प्रदेश तहसम्म थप सुदृढ बनाउँदै मधेशी जनताको हक, अधिकार र सामाजिक न्यायका पक्षमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन विस्तार, जनसम्बन्ध सुदृढीकरण र राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको थियो।
नवनियुक्त सदस्यहरूले आगामी निर्वाचनमा जसपा नेपालले उल्लेखनीय प्रगति हासिल गर्ने दाबी गर्दै पार्टीप्रति जनताको विश्वास बढ्दै गएको बताएका छन्। उनीहरूले मधेशको राजनीतिक अधिकार र पहिचानको मुद्दालाई थप सशक्त रूपमा स्थापित गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।













Discussion about this post