![]()
महेश सिंह,लहान सिरहा -सिरहाको नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादवले किशोरकिशोरीको हकअधिकार संरक्षण तथा उनीहरूका माग सम्बोधन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
पालिकास्तरीय किशोरी अधिकार मञ्चको आयोजनामा केयर नेपाल, सबल नेपाल र समुन्नति नेपालको सहयोग तथा नरहा गाउँपालिकाको समन्वय र सहकार्यमा बिहीबार पालिकाको बैठक हलमा आयोजित सामुदायिक संवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो।

कार्यक्रममा किशोरीहरूले बालविवाह न्यूनीकरण, सीपमूलक तालिमको व्यवस्था, शिक्षाको पहुँचबाट वञ्चित किशोरीलाई शिक्षासँग जोड्ने तथा खेलकुद सामग्री उपलब्ध गराउनेलगायतका माग उठाएका थिए। किशोरीका आवश्यकता र समस्यालाई स्थानीय सरकारले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने उनीहरूको भनाइ थियो।
सबल नेपालको फिल्ड कार्यान्वयनअन्तर्गत अधिकार उन्नति परियोजनाका अशोककुमार साहले किशोरी अधिकार मञ्चमा आबद्ध किशोरीहरूले आफ्ना माग स्थानीय सरकारसमक्ष प्रस्तुत गर्दै तिनको कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको जानकारी दिनुभयो।
त्यसैगरी, समुन्नति नेपालको मिल एसोसिएट परियोजना प्रमुख आनन्दकुमार महतोले किशोरीहरूको अधिकार संरक्षण, उनीहरूका सवाल सम्बोधन तथा समुदायमा किशोरीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

किशोरी अधिकार मञ्चकी अध्यक्ष हिमांशी यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रमोद यादव प्रमुख अतिथि तथा उपाध्यक्ष गुलाबदेवी चौधरी विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उदित्यकुमार कर्ण, प्रशासन प्रमुख सरोजकुमार यादव, स्वास्थ्य शाखा प्रमुख नन्दकिशोर यादव तथा महिला, बालबालिका शाखा प्रमुख निलम रायलगायतको उपस्थिति रहेको थियो।
संवादका क्रममा किशोरीहरूको शिक्षा, सीप विकास, बालविवाह न्यूनीकरण, खेलकुदमा पहुँच तथा उनीहरूको हकअधिकार सुनिश्चित गर्ने विषयमा छलफल भएको थियो। किशोरीका मागलाई स्थानीय तहको योजना तथा कार्यक्रममा समेट्दै प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रमले किशोरीहरूको आवाज स्थानीय सरकारसमक्ष पुर्याउन तथा उनीहरूको अधिकार संरक्षण र निर्णय प्रक्रियामा सहभागिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।













Discussion about this post