![]()
महेश सिंह,लहान सिरहा –सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित दुर्गा मन्दिर टोलमा बालबालिका, सुत्केरी तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न पोषण लेखाजोखा अभियान सुरु गरिएको छ।
केयर नेपालको आर्थिक सहयोग, स्थानीय सरकारको समन्वय तथा राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा सञ्चालन गरिएको अभियानअन्तर्गत बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण गरिएको हो।
अभियानका क्रममा ५० जना बालबालिकाको पोषण परीक्षण गरिएको छ। त्यस्तै, चार जना गर्भवती महिला र चार जना सुत्केरी महिलाको अवस्था पहिचान गरिएको जानकारी दिइएको छ। परीक्षणका क्रममा दुई जनामा मध्यम सिघ्र कुपोषण (MAM) र एक जनामा कडा सिघ्र कुपोषण ( SAM) भएका बालबालिका पहिचान गरिएको जनाइएको छ।

पोषण परियोजनाका अनुगमन अधिकृत आँचल खड्काले अभियानको मुख्य उद्देश्य बालबालिका तथा महिलाको पोषण अवस्था पहिचान गरी आवश्यक परामर्श, उपचार तथा स्वास्थ्य सेवाको पहुँचमा ल्याउनु रहेको बताउनुभयो। उहाँका अनुसार समयमै कुपोषण पहिचान गर्न सके त्यसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्नेछ।
अभियानमा अनमी विभा यादव, स्थानीय स्वास्थ्यकर्मी रुपेश झा तथा कृषि तथा बजारीकरण सहजकर्ता मुकेश यादवले सहजीकरण गर्नुभएको थियो।
यसैबीच, राष्ट्रिय कृषक समूह महासंघ नेपालका प्रदेश सचिव यामुनाप्रसाद यादवले अभियानको अनुगमन गर्नुभएको थियो।
स्थानीयस्तरमै पोषण अवस्थाको लेखाजोखा गरी जोखिममा रहेका बालबालिका तथा महिलालाई समयमै स्वास्थ्य सेवासँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।














Discussion about this post