![]()
महेश सिंह, लहान सिरहा -सिरहाको नरहा गाउँपालिका–३ मा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ९० जनाले आँखा परीक्षण तथा स्वास्थ्य सेवा लिएका छन्। स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समाजसेवी रामउदगार यादवको निवासमा शिविर सञ्चालन गरिएको हो।
तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंको व्यवस्थापन तथा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्थानीय सर्वसाधारणको आँखा परीक्षण गरिएको थियो।
शिविरमा परीक्षण गरिएका सेवाग्राहीमध्ये २० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको जसपा नेपालका नेता तथा समाजसेवी विजय कुमार यादवले जानकारी दिनुभयो। उहाँका अनुसार पहिचान भएका मोतियाबिन्दुका बिरामीको फुलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा–११ मा निःशुल्क शल्यक्रिया गरिनेछ।
ग्रामीण क्षेत्रमा आँखासम्बन्धी समस्या भएका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा ल्याउने तथा समयमै रोग पहिचान गरी उपचारको व्यवस्था गर्ने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।
शिविरमा तिलगंगा आँखा प्रतिष्ठान, रामलाल गोल्छा आँखा अस्पताल, अस्ट्रेलियन एड तथा फ्रेड होलोज फाउन्डेसनको सहयोग रहेको जनाइएको छ। शिविरमा सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सहयोगी संस्था र सहभागी सेवाग्राहीप्रति समाजसेवी रामउदगार यादवले आभार व्यक्त गर्नुभयो।
रामउदगार यादव लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको स्थानीयले बताएका छन्। उमेरका कारण सक्रिय जिम्मेवारीबाट क्रमशः विश्राम लिने अवस्थामा पुग्नुभएका यादवले गर्दै आउनुभएको सामाजिक सेवाका गतिविधिलाई उहाँका छोरा विजय कुमार यादवले निरन्तरता दिँदै आउनुभएको बताइएको छ।
जसपा नेपालका नेता तथा समाजसेवी विजय कुमार यादव स्थानीयस्तरमा सामाजिक तथा स्वास्थ्यसम्बन्धी गतिविधिमा समेत सक्रिय रहँदै आउनुभएको छ। उहाँ लहान अस्पताल चोकमा ‘एलआरएल’ नामक संस्था तथा प्रयोगशाला सञ्चालन गर्दै प्रयोगशाला प्राविधिकका रूपमा समेत कार्यरत हुनुहुन्छ।
स्थानीय स्रोतका अनुसार यादवले आगामी दिनमा सामाजिक सेवाका गतिविधिलाई थप व्यवस्थित रूपमा अघि बढाउने तयारी गर्नुभएको छ। उहाँ नरहा गाउँपालिकाको अध्यक्ष पदका लागि तयारी गरिरहेको चर्चा पनि स्थानीयस्तरमा रहेको छ।
बुबा रामउदगार यादवले लामो समयदेखि गर्दै आएको सामाजिक सेवाको अभियानलाई छोरा विजय कुमार यादवले निरन्तरता दिँदै आएपछि यादव परिवारको सामाजिक सक्रियता स्थानीय समुदायमा थप देखिन थालेको स्थानीयको भनाइ छ।














Discussion about this post