![]()
महेश सिंह, लहान सिरहा — सिरहाको लहान नगरपालिका–३ स्थित लोटस युनिक एकेडेमीले नेपालमै पहिलोपटक विद्यालय तहमा विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराएर ‘जेन्जी आन्दोलन दिवस’ मनाएको जनाएको छ। जेन्जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा विद्यालयले विद्यार्थीलाई उक्त आन्दोलनको घटनाक्रम, प्रभाव र युवापुस्ताको भूमिकाबारे जानकारी गराउने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको हो।
गुणस्तरीय शिक्षाका लागि लहान क्षेत्रमा राम्रो विद्यालयका रूपमा स्थापित हुँदै आएको लोटस युनिक एकेडेमीले नियमित पठनपाठनसँगै विद्यार्थीको सामाजिक चेतना, नेतृत्व क्षमता र समसामयिक विषयप्रतिको बुझाइ विकासमा समेत जोड दिँदै आएको जनाएको छ। सोही क्रममा विद्यालयले जेन्जी आन्दोलनलाई विद्यार्थीको अध्ययन र बहसको विषय बनाउँदै कार्यक्रम आयोजना गरेको हो।

देशमा भएको मानवीय तथा जनधनको क्षतिलाई स्मरण गर्दै विद्यालयले ‘जेन्जी आन्दोलन’ विषयमा बृहत् वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरेको थियो। कार्यक्रममा कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
कार्यक्रमको सुरुआत आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति मौनधारण तथा श्रद्धाञ्जली अर्पण गरेर गरिएको थियो। त्यसपछि विद्यार्थीहरूले जेन्जी आन्दोलनको पृष्ठभूमि, त्यसले मुलुकको राजनीतिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव र युवापुस्ताको भूमिकाका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बीबीसीका पत्रकार महेश सिंह प्रमुख अतिथि रहेका थिए। प्रमुख अतिथि सिंहले जेन्जी आन्दोलन युवापुस्ताको परिवर्तनको चाहनाबाट अघि बढेको आन्दोलनका रूपमा चर्चा गर्दै यसले मुलुकको राजनीतिक परिस्थितिमा तीव्र परिवर्तन ल्याएको बताए।
उनले युवापुस्ताको सक्रियताले छोटो समयमै सरकार परिवर्तन र नयाँ राजनीतिक बाटो निर्माण गर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै विद्यार्थीले यस्ता समसामयिक घटनाक्रमलाई अध्ययनको विषय बनाउनुपर्नेमा जोड दिए।
विद्यालयले आन्दोलनका क्रममा भएको मानवीय क्षति तथा घटनाक्रमलाई विद्यार्थीको अध्ययन र चेतनाको विषय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। विद्यालय तहमा विद्यार्थीलाई सहभागी गराएर जेन्जी आन्दोलनको वार्षिकोत्सवका रूपमा कार्यक्रम आयोजना गर्नु आफ्नो नमुना प्रयास भएको विद्यालयको भनाइ छ।
वक्तृत्वकला प्रतियोगितामा कक्षा ८ की छात्रा कृषटिना चौधरी प्रथम, कक्षा ९ की छात्रा समिक्षा चौधरी दोस्रो र कक्षा १० का विद्यार्थी जेनिश चौधरी तेस्रो भएका छन्।
गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई व्यवहारिक ज्ञान, सामाजिक चेतना र नेतृत्व विकासमा सक्षम बनाउने उद्देश्यले यस्ता सिर्जनात्मक तथा समसामयिक कार्यक्रमलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ।











Discussion about this post