![]()
महेश सिंह,लहान सिरहा – सामाजिक सञ्जाल तथा प्रविधिको दुरुपयोगबाट महिला र किशोरीमाथि बढ्दै गएको डिजिटल हिंसालाई न्यूनीकरण गर्ने उद्देश्यसहित सिरहाको गोलबजारमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको छ।
‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नाराका साथ ३५औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०२६ अन्तर्गत मंगलबार जनचेतनामूलक र्याली, कोणसभा तथा सडक नाटक प्रदर्शन गरिएको हो।
गोलबजार नगरपालिकाको आयोजना तथा स्थानीय सङ्घसंस्था र इलाका प्रहरी कार्यालय गोलबजारको सहकार्यमा नगर उपप्रमुख मान्ती साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
नगरपालिका कार्यालयको प्राङ्गणबाट सुरु भएको र्याली बजारका विभिन्न भाग परिक्रमा गर्दै गुदरी बजारमा पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा करिब १५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
डिजिटल हिंसाको जोखिमबारे सडक नाटकबाट सचेतना
अभियानको मुख्य आकर्षणका रूपमा मुक्ति नेपालका शान्ति स्वयंसेवकहरूले डिजिटल हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका थिए। नाटकमार्फत सामाजिक सञ्जालको असुरक्षित प्रयोग, अनलाइन दुर्व्यवहार, व्यक्तिगत गोपनीयताको सुरक्षा तथा प्रविधिको दुरुपयोगबाट महिला र किशोरीले भोग्नुपर्ने जोखिमबारे सन्देश प्रवाह गरिएको थियो।
पछिल्लो समय डिजिटल माध्यमबाट हुने दुर्व्यवहार र हिंसाका जोखिमप्रति समुदायलाई सचेत बनाउँदै पीडितलाई संरक्षण र न्यायको पहुँचमा पुर्याउन सामूहिक जिम्मेवारी आवश्यक रहेको सन्देश कार्यक्रमले दिएको छ।
कार्यक्रममा मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महरा, दलित महिला विकास केन्द्रका कार्यक्रम संयोजक आनन्द पाख्रिन, समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतो, महिला मानव अधिकार रक्षक सञ्जाल सिरहा, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा, सहारा नेपाल, दलान युवा क्लब तथा इलाका प्रहरी कार्यालय गोलबजारका प्रतिनिधिहरूको सहभागिता थियो।
त्यसैगरी बाल क्लब, किशोरी समूह, युवा समूह, महिला समूह, सामुदायिक सहयोग समूह तथा स्थानीय नागरिकहरूको पनि सक्रिय उपस्थिति रहेको थियो।
धनगढीमाईमा पनि अभियान सुरु
यसैबीच सिरहाकै धनगढीमाई नगरपालिकामा पनि विभिन्न सङ्घसंस्था र सरोकारवालाहरूको सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गरिएको छ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने यस अभियानले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य, पीडितको संरक्षण, न्यायमा पहुँच र दण्डहीनताको अन्त्यलाई प्राथमिकतामा राख्दै आएको छ।
स्थानीय सरकार, सुरक्षा निकाय, नागरिक समाज र समुदायबीच सहकार्य बढाउँदै हिंसामुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ सुरु भएको अभियानले डिजिटल हिंसासहित सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध सामूहिक आवाज उठाउनुपर्ने सन्देश दिएको छ।












Discussion about this post