![]()
महेश सिंह लहान लहान –जर्सी ओभरसिज एड र केयर नेपालको सहयोग तथा लहान नगरपालिका, सामुदायिक वन उपभोक्ता महासंघ र राष्ट्रिय कृषक समूह महासंघको साझेदारीमा सञ्चालित ‘संरक्षण परियोजना’ को वार्षिक समीक्षा तथा सिकाइ कार्यशाला गोष्ठी सम्पन्न भएको छ। परियोजनाले तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा साझेदार संस्थाका प्रतिनिधि, स्थानीय समुदाय तथा सरोकारवाला निकायका गरी ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रममा केयर नेपालका तर्फबाट परियोजना व्यवस्थापक जगदिश भट्टले परियोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले विगत तीन वर्षको अवधिमा जैविक विविधता संरक्षण, जलाधार व्यवस्थापन, स्थानीयको जीविकोपार्जन सुधार र संस्थागत विकासका क्षेत्रमा हासिल भएका मुख्य उपलब्धिहरूमाथि प्रकाश पार्नुभएको थियो।
राष्ट्रिय कृषक समूह महासंघका प्रदेश कार्यक्रम संयोजक दिलिप कुमार साहले सहजीकरण गर्नुभएको उक्त गोष्ठीमा परियोजनाको दिगोपना र समुदायको अपनत्व अभिवृद्धिका विषयमा खुला सत्रमार्फत बृहत् छलफल गरिएको थियो। सहभागीहरूले आ-आफ्नो धारणा राख्दै आगामी दिनमा परियोजनाका गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समूहगत कार्य (ग्रुप वर्क) र प्रस्तुतीकरणसमेत गरेका थिए।
कार्यशालाको अन्त्यमा आगामी वर्षका लागि संक्षिप्त कार्ययोजना निर्माण गर्दै कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ।











Discussion about this post