![]()
महेश सिंह, लहान सिरहा-सिरहाको लहानमा जय महाकाल युवा समूहले भोकालाई भोजन र प्यासिलाई पानी उपलब्ध गराउने उद्देश्यले निःशुल्क भोजन वितरण महाअभियान सुरु गरेको छ। समूहले सोमबारदेखि लहान नगरपालिका–३ अस्पताल चोकमा अभियान सञ्चालन गरेको हो।
‘भोकालाई भोजन, प्यासिलाई पानी’ भन्ने मूल नारासहित सुरु गरिएको अभियानअन्तर्गत दैनिक १०० देखि २०० जनासम्मलाई निःशुल्क खाना वितरण गर्ने लक्ष्य राखिएको मधेस प्रदेश अध्यक्ष सञ्जयकुमार ठाकुरले जानकारी दिनुभयो।
ठाकुरका अनुसार अभियानअन्तर्गत हाल प्रत्येक दिन बेलुका ४ बजेदेखि खाना वितरण गरिनेछ। आगामी दिनमा स्रोत र व्यवस्थापनको अवस्था हेरेर बिहान र बेलुका दुवै समय भोजन वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो।
समाजमा कोही पनि भोकै बस्न नपरोस् भन्ने मानवीय भावनाका साथ अभियान सञ्चालन गरिएको समूहले जनाएको छ। अभियानमा आवश्यक पर्ने खर्च सम्पूर्ण युवाहरूको व्यक्तिगत लगानीबाट व्यवस्थापन भइरहेको ठाकुरले जानकारी दिनुभयो।
निःशुल्क भोजन वितरण अभियानले विपन्न, असहाय तथा आवश्यकतामा रहेका व्यक्तिलाई प्रत्यक्ष राहत पुर्याउनुका साथै समाजमा मानवीय सेवा, सहयोग र सहकार्यको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न जय महाकाल युवा समूह सिरहाका जिल्ला अध्यक्ष कृष्णप्रसाद दास, सप्तरी जिल्ला अध्यक्ष सन्तोषकुमार मण्डल, लहान नगर उपाध्यक्ष आनन्द महतो र लहान नगर अध्यक्ष मुकेशराज किरणलगायत युवाहरू सक्रिय रहेका छन्।
समूहले मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै सुरु गरेको यस अभियानलाई निरन्तरता दिने जनाएको छ।











Discussion about this post